आजकाल देउता रिसाउँदैनन्, बरु खुसी छन्

पराजित भयो दूध बेच्दा देउता रिसाउँछन् भन्ने अन्धविश्वाश

बसन्तप्रताप सिंह, बझाङ २०७४ पुष १० गते १५:०९


दूध नबेच, दही नबेच, घिउ नबेच । देउता रिसाउँछन् । जो पायो त्यसलाई दूधदही खान नदेउ । देउता रिसाउँछन् । आम्मै, जातथर र गोत्र नसोधी दूध हालेको चिया खान दिने हो ? देउता रिसाउँछन् ।

पहिले देउता ‘रिसाँउथे’ तर आजकाल देउता रिसाउन छाडे । देउताले रीसराग त्यागेका हुन् कि ? पक्कै देउताले नीति नै परिवर्तन गरेका होलान् । दूधदही बेच्दा र सबैलाई खान दिँदा रिसाउने देउता आजकाल खुसी पो हुन्छन् । खुसी भएर दूधदही बेच्नेलाई मालामाल बनाइदिन थालेका छन् ।

नीति कसले फेर्यो ? देउताले कि मानिसले ? आउनोस् । यसबारे बझाङबझाङको विवरण पढौं:

‘मलाई पनि पहिले महिनावारी हुँदा दूधदही खायो भने देउता रिसाउँछन् भन्ने डर लाग्थ्यो,’ धनलक्ष्मी सम्झन्छिन्, ‘महीनावारी भएको बेला दूध खाएको खण्डमा देवता रिसाउने हुन् की ? गाई भैसिले दूध दिनै छोड्ने हो की भन्ने निकै चिन्ता लाग्थ्यो ।’

बेचिँदैनथ्यो गोरस

बझाङ तथा आसपासका जिल्लामा गोरस (दहि, दूध, मोही, घिऊ ) लाई भगवानको प्रसाद मानिन्थ्यो र अझै पनि मानिन्छ । यो प्रसाद बजारमा बेच्नु त परै जाओस् पाहुनालाई दिनु पर्दा पनि जात, गोत्र र सातपुस्ते सोधेर मात्र दिने चलन थियो बझाङ र आसपासका जिल्लामा ।

जसलाई पायो त्यसलाई गोरस दिँदा र बेच्दा देउता रिसाउँने ठानिन्थ्यो । देउता रिसाएर गाईभैंसींले दूध नदिने, दूध कम दिने, गाईभैसी विरामी पर्छ भनिन्थ्यो ।

त्यसैले बझाङ सदरमुकाम चैनपुरमा दूध हालेको चिया खान पाइँदैनथ्यो । महिनावारी भएको बेला छोरी मानिसले दूधदही खाँदैनथे, खान चाहे पनि खान पाउँदैनथे । किनभने देउता रिसाउँथे ।

देउतालाई च्यालेन्ज

२०४२ साल तिर कैलाश गाविसका निलगगल रोशन सिंहले ‘देउता’ लाई च्यालेन्ज गरे । उनले दूधदहीको व्यापार थाले । कृषि विकास बैङ्कबाट साना किसानका रुपमा सहुलियत ऋण लिए । त्यसपछि दूधदहीको व्यापारी बनेका थिए ।

तर, निलगगनसँग देउता कति रिसाए भन्ने कहिल्यै थाहा भएन । अँ, स्थानीय चाहिँ खुबै रिसाए । दूधदही बेचेर परम्परा विपरित काम गरेको भन्दै व्यापक सामाजिक आलोचना खेपे । सिंह भन्छन ‘मलाई त्यतिबेला अब यो पागल हुन्छ । अब यसलाई देउताले छोड्दैन भनेर खिल्ली उडाउनेहरुको संख्या नै बढी थियो ।’

उनी सम्झन्छन् ‘दलित समुदायका मानिसहरु पनि ठूला जातले बेचेको दूधदही किनेर खान हिच्किचाउँथे । दैनिक ६० लिटर जति दूध बजारमा पठाउथ्यौं । आधा जति मात्र विक्री हुन्थ्यो ।’

करिब तीन वर्ष निलगगनले देउता उर्फ स्थानीयको अन्धविश्वाशसँग टक्कर गरे तर हारे । देउतासँग होइन, खल्तीसँग चाहिँ हारे । तीन लाख रुपैयाँ घाटा लागेपछि उनले आत्मसमर्पण गरे । व्यवसाय छाडे । कतिपयलाई लाग्यो, देउताको आशिर्वाद नभएपछि घाटा लागेर व्यवसाय बन्द भयो ।

अब देउता खुसी छन्

शायद मानिसको अन्धविश्वाश देखेर होला, देउतालाई पनि सहिनसक्नु भएछ क्यार । त्यसैले परम्परागत धारणा विपरित गोरस बेच्ने र व्यापार गर्नेलाई मालामाल बनाइदिन थाले ।

‘पहिला मलाई दूध बेच्यो, अब पागल हुन्छ भन्नेहरु नै अहिले गोरस व्यवसायमा लागेका छन् । गोरसले धेरैको जीवन परिवर्तन भएको आफ्नै आँखाले देख्न पाउँदा खुसी लाग्छ,’ निलगगन भन्छन् ।

निलगगनसँग देउता कति रिसाए भन्ने कहिल्यै थाहा भएन । अँ, स्थानीय चाहिँ खुबै रिसाए । दूधदही बेचेर परम्परा विपरित काम गरेको भन्दै व्यापक सामाजिक आलोचना खेपे । सिंह भन्छन ‘मलाई त्यतिबेला अब यो पागल हुन्छ । अब यसलाई देउताले छोड्दैन भनेर खिल्ली उडाउनेहरुको संख्या नै बढी थियो ।’

बझाङमा दूध क्रान्तिका नायक भनेर चिनिन्छन् निलगगन । उनको गाउँ कैलासबाट मात्र अहिले बार्षिक एक करोड रुपैयाँ भन्दा धेरैको दुग्ध पदार्थ बिक्री हुन्छ । गाउँको मुख्य आयश्रोत नै दूध भएको उनी बताउँछन् ।

‘केही बर्ष अघिसम्म पनि यहाँ दूध बेच्नु पाप जस्तै मानिन्थ्यो’ दूध व्यवसाय गरिरहेकी कोटदेवलकी धनलक्ष्मी द्धालले भनिन् ‘अहिले यो अन्धविश्वाश हट्दै गएको छ । दूध बेचेर राम्रो आम्दानी गर्नेहरु हाम्रै गाउँमा पनि धेरै छन् ।’

‘मलाई पनि पहिले महिनावारी हुँदा दूधदही खायो भने देउता रिसाउँछन् भन्ने डर लाग्थ्यो,’ धनलक्ष्मी सम्झन्छिन्, ‘महीनावारी भएको बेला दूध खाएको खण्डमा देवता रिसाउने हुन् की ? गाई भैसिले दूध दिनै छोड्ने हो की भन्ने निकै चिन्ता लाग्थ्यो ।’

अहिले बझाङमा दसबटा भन्दा धेरै दूध संकलन केन्द्र र डेरी संचालनमा छन । तीनवटा दुग्ध उत्पादक सहकारी छन् र अन्य स्थानीय सहकारीले पनि प्रवद्र्धन गरिरहेका छन् ।

जयपृथ्वी नगरपालिकाको वडा नं ९ देवल गाउँकी गाई पालक सीतादेवी खड्काले जर्सी गाई पालेकी छिन् । दूध बेचेर मासिक ५० हजार सम्म कमाउँछिन् । ४२ वर्षिया सीता भन्छिन्, ‘दूध बेच्नु त के सबैलाई देखाउन समेत हुँदैन, आँखा लाग्छ भन्ने समयमा जन्मेकी हूँ । यसरी दूध बेचेरै घरबार चलाउँला भन्ने त कल्हिल्यै सोचेकी थिइनँ ।’

त्यस्तो थियो बझाङ, अहिले दुग्ध जन्य व्यवसायबाट जिल्लामा चार हजार भन्दा धेरै मानिसले रोजगारी पाएका छन् । जिल्ला पशुसेवा कार्यालयका प्राविधिक कर्णबहादुर खड्का भन्छन, ‘दूध बेच्नु हुँदैन भन्ने मान्यता लगभग हटिसकेको छ ।’ अहिले जिल्लामा बार्षिक चार सय ५५ मेट्रिक टन दूध उत्पादन भइरहेको उनले बताए ।

दूधले बझाङ र आसपासका जिल्लामा समृद्धि बढाएको छ । यसको अर्थ हो, देउता खुसी छन् । देउता खुसी हुनुको कारण हो, दूध बेचेर मानिस खुसी छन् । मानिस खुसी हुँदा देउता रिसाउँदैनन्, झन खुसी हुन्छन् । बल्ल सबैले यो कुरा बुझ्न थाले ।

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने