आहा ! तिम्बुङ पोखरी

पोखरीको पानी बिरामीलाई खुवाए रोग निको हुन्छ भन्ने जनविश्वासका कारण यहां आउने यात्रीहरुले पोखरीको पानी वोत्तलमा लिएर जाने गर्छन ।

हाम्रो कथा २०७४ कार्तिक ८ गते १७:२०

असोजदेखि वैशाख महिना सम्मै हिउँ पर्ने पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बुङ पोखरी ऐतिहासिक, धार्मिक, जैबिक बिबिधताले भरिपुर्ण छ । समुद्री सतहवाट ४ हजार ४ सय ८० मिटर उचाईमा रहेको तिम्बुङ पोखरीको लम्बाइ करिब ४ सय मीटर छ भने चौडाइ २ सय मिटर छ । पोखरीको गहिराइ हालसम्म मापन गरिएको छैन । पोखरीको गहिराई त मापन गर्न सकिएको छैन भने सौन्दर्य त झन् के नाप्न सकिएला र ?

यस पोखरीका आसपासमै शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हांस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका १८ वटा पोखरी छन भने आँखै अघिको कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरु माला जस्तै आकारमा रहेका छन । त्यसैले पनि तिम्वूङ पोखरी क्षेत्रलाई पुर्वको गोसाँइ कुण्ड भन्ने गरिन्छ ।

तिम्वङु पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कन्चनजंघा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरु, मनमोहक दृष्य, अग्ला पहाड र थुम्का अनि भारतको सिक्किम दार्जिलिङ्ग लगायत विभिन्न सहरको पनि दृश्यावलोकन गर्न सकिन्छ । भालु, कस्तुरी, वनभेडा, वँदेल, रेडपाण्डा र हिउँ चितुवा जस्ता अनेकौं जनावरहरु समेत यस क्षेत्रमा डुलिरहेका देख्न सकिन्छ ।

तिम्बुङ पोखरीको सङ्गलो र पारदर्शी पानीवाट उत्पत्ती भएको इवा नदीको सौन्दर्य पनि उस्तै छ । पोखरीको पानी बिरामीलाई खुवाए रोग निको हुन्छ भन्ने जनविश्वासका कारण यहां आउने यात्रीहरुले पोखरीको पानी वोत्तलमा लिएर जाने गर्छन ।

पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक जडीवुटीले त्यहाँको वातावरणलाई सुगन्धित र मनमोहक पारेको छ । यहाँ पुग्ने जो कोहिलाई तिम्बुङ पोखरी धरतिको स्वर्ग जस्तै लाग्छ ।

पोखरीको पिँधमा तीर्थयात्रीहरुले चढाएको पैसा र अन्य वस्तुहरु मान्द्रोमा विस्कुन फिजाएझैं स्पष्ट देखिन्छ । कुहिरो र पोखरीको लुकामारी पनि गज्जबकै हुन्छ तिम्बुङ पोखरीमा ।

स्थानिय वृद्धहरुका अनुसार पृथ्वीमा ठुला ठुला घटना दुर्घटना हुने वेलामा तिम्बुङ पोखरीमा बन्दुक पड्केको जस्तै ठुला ठुला आवाज आँउछन् । लिम्बु भाषामा बन्दुकलाई तिम्मक भनिन्छ । संसारभरका घटनालाई बन्दुक पड्केको जस्तै आवाजमा जनाउ दिने भएकाले यो पोखरीको नाम पनि लिम्बु भाषामै तिम्मक पोखरी राखिएको हो । पछिल्लो समयमा तिम्मक पोखरी भन्ने शब्द अपभ्रंश हुँदै तिम्बुङ पोखरी बन्न पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित

होलीले सिकाउने ‘नेतृत्व’को पाठ !

४ घन्टा अगाडि १ मिनेटमा पढिने

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने