‘म चाहन्छु मेरा कविता कम्तीमा आमाहरुले बुझून्’

कवि नवराज पराजुलीद्वारा लिखित कवितासङ्ग्रह ‘सगरमाथाको गहिराइ’ले यस वर्ष पद्मश्री पुरस्कार २०७३ पाएको छ । यो उनको पहिलो कृति हो । कवि पराजुलीलाई हामीले यसै सन्दर्भमा पाँच प्रश्न सोधेका थियौँ ।

हाम्रो कथा २०७४ असोज १ गते १६:५२


१. सगरमाथाको गहिराइले यसपालिको पद्मश्री पुरस्कार पाएपछि यहाँलाई कस्तो लागिरहेको छ ?

आफ्नो बच्चाको काँधमा उसका शिक्षकले धाप मारेको देख्दा त्यो बच्चाको बाबु जसरी खुसी हुन्छ, सगरमाथाको गहिराइ पद्मश्री पुरस्कारले पुरस्कृत हुँदा म त्यसरी नै खुुसी भएको छु ।

२. कवितामा शब्दसँगसँगै ध्वनिमा पनि धेरै गृहकार्य गर्नुभएको छ । यहाँलाई कविताको सुन्दरता केमा छ जस्तो लाग्छ ?

आहा ! कसैले नसोधेको तर मैले सुन्न चाहेको प्रश्न गर्नुभयो । झट्ट हेर्दा शब्दहरूमा जे बनेको देखिन्छ, त्यति नै कविता हो जस्तो लाग्न सक्छ । तर त्यो कविता पानामा पढ्दा वा अडियोमा सुन्दा वा भिडियोमा हेर्दै सुन्दा हाम्रो आफ्ना अनुभूतिसँग जोडिएर हामीभित्र कताकता एक अलग्गै किसिमको ध्वनि बन्छ । असली कविता त त्यहाँ हुन्छ । त्यसैले त आफूभित्र अनुभूतिको धुन जस्तो छ, त्यसैअनुसार एउटै कविता फरक मान्छेमा छुट्टाछुट्टै कविता बनिदिन्छ । कसैकसैले छुँदै छोएन भनेको कविताले कसैकसैलाई भिजाइरहेको हुन्छ ।

‘म कविता परिभाषित गर्न सक्दिनँ । मलाई लाग्छ, जुन दिन मलाई कविताको परिभाषा थाहा हुन्छ, त्यो दिनदेखि म कविता लेख्न सक्दिनँ ।’

कुनै ‘म्युजिक डाइरेक्टर’ले एउटा गीतमा धुन सँगसँगै जसरी अरु बाजाहरू प्रयोग गर्छ म पनि कवितामा शब्दको धुनसँगसँगै शब्दकै अरू बाजा प्रयोग गर्न रुचाउँछु । पाइप जोडिएकाले मात्रै पानी आइपुग्दैन, त्यो भित्रको पानी जोडिएर न आउने हो । कवितामा पनि शब्दहरूको बीचमा एउटा धुनको धागोले जोड्न मन लाग्छ ।

यस्तो चिज झट्ट हेर्दा देखिन्न । तर थाहै नपाई यसले पाठक र श्रोतालाई खुसी दिइरहेको हुन्छ । खुसी हुनको लागि खुसी किन भएछु भनेर थाहा पाउनु पनि त आवश्यक छैन । तर यस्तो धुन बनाउँदा वा कम्तीमा आफूबाट यस्तो धुन बनिरहँदा सर्जकले त्यसबाट अद्भूत आनन्द लिन्छ ।

जस्तै:– ‘रूख’ कविता लेख्दा मैले त्यो कविताको सुरुमा यस्तो लेखेछु:

बुढी,
म हरेक बिहान तेरो यही तस्बिर हेर्छु
र मेरा हातहरू
सूर्यको सट्टा
यसैमा पानी चढाउँछन्…

यो लामो कविताको अन्यभन्दा अलिमाथि मैले यस्तो लेखेछु:

तँ गएको दिनदेखि
यो तुलसीको सुख्खा मठले
चाहिएको बेला चिसो पानी पाएको छैन,
मेरो सुख्खा ओठले
चाहिएको बेला तातो पानी पाएको छैन…

अघि त्यो सुरुको तस्बिर  र सूर्यमा पानी चठाउने धुनको धागो, यो अन्त्यनेरको तुलसाको मठ र आफ्नो ओठमा पानी चढाउने धुनसँग जोडिनुले जुन संगीत निस्कन्छ, म त्यसैमा रमाउँथे र अझै रमाइरहेछु ।

यस्ता सयौँ अरु धुनहरू घोलिएका छन् यी ३६ वटा कविताहरुमा, जुन कवि आफैँले भन्दै वा व्याख्या गर्दै हिँड्नु राम्रो हुन्न । यहाँ एउटा उदाहरण मात्रै दिएको हुँ । कविताका यस्ता धुनहरू केलाउने काम कविको हैन, कविले त धुन भर्ने हो, खोज्ने काम त समीक्षकको हो । कुनै दिन कविताकै समीक्षा पढ्न पाइयो भने, यी धुनहरूको सरगम थाहा होला ।

कवि नवराज पराजुली कविता कन्सर्ट गर्दै ।

३. कविता कन्सर्टलाई सँगसँगै लैजादै हुनुहुन्छ, कवितासँग यसरी पाठकमाझ प्रत्यक्ष उभिने सोच कसरी आयो ?

‘कविता बुझ्न पण्डित हुनुपर्छ, वादहरू, सिदान्तहरू बुझेको हुनुपर्छ, कविता सर्वसाधारणले बुझ्ने विधा नै हैन । कविता जटिल हुनुपर्छ । जति सरल भयो कविता त्यति हलुका हुन्छ, हलुका र सरल चिजको आयु छोटो हुन्छ’ भन्ने बकवासले म वाक्क भइसकेको थिएँ । यो कस्तो ढर्रा हो ? कविता चाहिँ सर्वसाधारणकै बारेमा लेख्ने अनि तिनै सर्वसाधारणले नबुझ्ने ? किसानको कविता लेख्ने तर किसानले नै नबुझ्ने ? आमाको कविता लेखेँ भनेर फुर्ती लाउने तर आमाले नै नबुझ्ने ?

‘आफ्नो बच्चाको काँधमा उसका शिक्षकले धाप मारेको देख्दा त्यो बच्चाको बाबु जसरी खुसी हुन्छ, सगरमाथाको गहिराइ पद्मश्री पुरस्कारले पुरस्कृत हुँदा म त्यसरी नै खुुसी भएको छु ।’

म चाहन्छु मेरा कविता कम्तीमा त्यति सजिला हुन् कि मैले जसको बारेमा लेखेको हो, उसलाई सुनाउँदा उसलाई आफ्नो हो जस्तो लागोस् । सजिलोमा के खराबी छ ? कति सजिला छन् हाम्रा आमाहरू । कविताहरू आमाजस्ता हुन नपाउने ? सजिला हुँदैमा गहिराइ हुन्न भने हाम्रा आमा भन्दा गहिरो अस्तित्व अरु कहाँ छ ?

संसारका सबैभन्दा उत्कृष्ट मानिएका कविताहरु कति सजिला छन् ।

म चाहन्छु मेरा कविता हलुका हुन् । हलुका हुनुमा के खराबी छ ? कति हलुका छन्, प्वाँखहरू । कविताहरू प्वाँखहरूजस्तै उड्न नहुने ?

म चाहन्छु म कविता सुनाऊँ। मानौँ कोही निरक्षर छ, तर ऊ कविता सुन्न त सक्छ नि ! के निरक्षरको कविता नै हैन ? हामी धेरै अक्षर सिकेकाहरू तिनै निरक्षरहरूकै कथा बेचेर त बाँचिरहेका छौ नि, हैन र ? उनीहरूकै कुरा लेखेर कवि बन्ने, नाम कमाउने, दाम कमाउने, अनि उनीहरूले ती कविता सुन्न सम्म पनि नपाउने ?

विदेशका अन्य सहरहरूमा पैसा लिएर कविता कन्सर्ट गरिरहेको छु, तर गाउँगाउँमा गएर निःशुल्क कविता सुनाएको पनि छु, र सुनाउन पनि तयार र तत्पर छु, त्यस्ता कार्यक्रम लिएर गाउँ जाने तयारी पनि हुँदैछ ।

सबैभित्र कविता छ, त्यसैले कविता सबैको हो । सकेसम्म धेरैमा कविता पुर्याउन कविता सुनाउँछु ।

पोखरामा मैले सुनाएको कविता ‘हेब्बी बड्डे’को भिडियो सामाजिक सञ्जालमा चालीस लाखभन्दा बढी पटक हेरिएको रहेछ । कविता सुनाइएको र भिडियो बनाइएको हुनाले यति धेरै मानिसमाझ त्यो कविता पुगेको हो जस्तो लाग्छ । म खुसी भएको मेरो कविता त्यति धेरै दर्शकश्रोता माझ पुग्यो भनेर मात्र हैन, कुनै कविता त्यति धेरै माझ पुग्यो भनेर हो ।

४. कवि भएर कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

म कविता परिभाषित गर्न सक्दिनँ । मलाई लाग्छ, जुन दिन मलाई कविताको परिभाषा थाहा हुन्छ, त्यो दिनदेखि म कविता लेख्न सक्दिनँ ।

५. कविता लेख्दा आनन्द लाग्छ या पर्फम गर्दा ?

दुवैमा आनन्द छ, फरक खालको ।

कविता लेख्दा र लेखिँदा ब्रह्माण्डको एउटा अदृश्य ऊर्जासँग जोडिएझैँ लाग्छ अनि रमाउँछु । कविता सुनाउँदा आँखैअघिका आँखाका हृदयको ऊर्जासँग जोडिएझैँ लाग्छ, अनि रमाउँछु । दुःखको कविता लेख्दा पनि कहिल्यै थाहा नपाएको आनन्द आउँछ । दुःखको कविता सुनाउँदा कविता सुनेर आँसु पुछ्दै आएका मान्छे पनि रुवाउनु भयो, आनन्द आयो भन्नुहुन्छ । त्यो सुनेर आनन्द आउँछ । हाम्रा साझा दुःख बाँड्दा पनि आनन्द हुँदो रहेछ ।

‘म चाहन्छु मेरा कविता कम्तीमा त्यति सजिला हुन् कि मैले जसको बारेमा लेखेको हो, उसलाई सुनाउँदा उसलाई आफ्नो हो जस्तो लागोस् ।’

मैले प्रेमका कविता सुनाएपछि, तपाईँले त मेरै प्रेम लेखिदिनु भएछ, आनन्द आयो भन्नुहुन्छ । हाम्रा साझा प्रेम बाँड्दा आनन्द आउँछ । यति धेरै मान्छेसँग कविता लिएर पुग्दा मैले के थाहा पाएँ भने हामी एक अर्काका दुःखहरूले एक अर्कालाई चिन्दा रहेछौँ । कहिलेकाहीँ त मलाई हाम्रा सबै दुःखहरू भेला भएर सँगै रुन्छन् कि जस्तो पनि लाग्छ ।

हामी एक अर्काका प्रेमले एक अर्कालाई चिन्दा रहेछौँ । कहिलेकाहीँ त मलाई हाम्रा सबै प्रेमहरु भेला भएर सँगै मुस्कुराउँछन् कि जस्तो पनि लाग्छ ।

कविता लेख्दा होस् या सुनाउँदा हामीले जति चाहेर पनि हराउन नसकिने दुःख र प्रेमका कविताभित्र म अक्सर हराउँछु ।

(प्रस्तुति: सविना देवकोटा)

प्रतिक्रिया
लोकप्रिय